उच्च अदालतको आदेशपछि रवि लामिछाने शुक्रबार रिहा हुने
काठमाडौं, पुस ३ — सहकारी ठगी प्रकरणमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत तुल्सीपुरको बुटवल इजलासको आदेशअनुसार शुक्रबार रिहा हुने भएका छन्।
हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात (पूर्जी) प्राप्त गरेपछि मात्रै औपचारिक रूपमा थुनामुक्त हुनेछन्। पूर्जी लिनका लागि उनी शुक्रबार भैरहवा पुग्ने तयारीमा छन्।
लामिछाने रिहा हुन लागेको खबर फैलिएपछि बिहीबार नख्खु कारागार परिसरमा समर्थकहरूको ठूलो भीड लागेको थियो।
उच्च अदालतले २ करोड ६८ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको हो। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार गरेसँगै उनको रिहाइको प्रक्रिया अगाडि बढेको हो।
अब जिल्ला अदालत रुपन्देहीबाट औपचारिक प्रक्रिया पूरा भएपछि रवि लामिछाने शुक्रबार नै कारागारमुक्त हुनेछन्।