प्रधानमन्त्री कार्कीद्वारा खैरो सूचीबाट बाहिरिन भइरहेको तयारीबारे ब्रिफिङ
काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणसम्बन्धी खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भइरहेका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी लिएकी छन्।
आइतबार अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्कीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने विभिन्न निकायबाट ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ब्रिफिङका क्रममा सम्बन्धित निकायका प्रमुखहरूले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाइएको, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने कार्यमा भएको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
त्यस अवसरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ उपत्यकाभित्र मात्रै एक हजार ६ सय रोपनी जग्गा रोक्का गरिएको विवरण प्रस्तुत गरेको छ। सरकारले खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न कानुनी कार्यान्वयन, अनुसन्धान र अन्तरनिकाय समन्वयलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।