कांग्रेसको अनुशासनसम्बन्धी निर्णय परिपत्र गर्दा शब्द थपिएको विवाद
काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनसम्बन्धी कारबाहीका विषयमा तीनवटा निर्णय गरेको छ।
बैठकको पहिलो निर्णयअनुसार गत निर्वाचनका क्रममा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक–समर्थक बनेका वा असहयोग गरी अनुशासन विपरीतका गतिविधिमा संलग्न भएका कारण केन्द्रीय अनुशासन समितिबाट निष्कासन, निलम्बन वा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेका नेता–कार्यकर्ताको बाँकी कारबाही अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको थियो।
निर्णयको बुँदा १(ख) मा कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै क्रियाशील सदस्यता नवीकरण गर्ने उल्लेख गरिएको थियो।
तर, यही निर्णयलाई आइतबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहतका तल्ला समितिहरूमा परिपत्र गर्दा नयाँ वाक्य थपेर पठाएको पाइएको छ। शनिबारको निर्णयमा उल्लेख नभएको “कारबाही फुकुवा भए पनि बहाल पद नरहने” भन्ने वाक्य परिपत्रमा थप गरिएको हो।
परिपत्रमा उल्लेख गरिएको छ, “कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको बहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ।”
यस विषयमा प्रतिक्रिया दिँदै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्णयमा खासै परिवर्तन नभएको दाबी गरेका छन्। उनले भने, “हिजो घुमाउरो भाषामा थियो, आज सिधै लेखिदिएको मात्रै हो। खासै केही थपिएको छैन।”