प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूची बुझाउन दलहरू आयोगमा
१३ पुस, काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।
निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । ती दलहरूले जम्मा १३४ जनाको बन्दसूची आयोगमा बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार समानुपातिक बन्दसूची पेस गर्ने समय पुस १३ र १४ गते तोकिएको छ । आयोगले बन्दसूची पेस गर्ने प्रक्रिया दुई चरणमा अघि बढाइरहेको छ ।
पहिलो चरणमा राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम मतदाता नामावलीमा रहेको वा नरहेको यकिन गरी निस्सा उपलब्ध गराइन्छ । निस्सा प्राप्त भएपछि मात्र बन्दसूची दर्ता हुने व्यवस्था गरिएको छ ।
आयोगले सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण स्रोत साधनको व्यवस्था गरिएको जनाएको छ । निर्वाचनको व्यस्त कार्यतालिकाका कारण समय थप्न नसकिने पनि आयोगले स्पष्ट पारेको छ ।
प्रवक्ता भट्टराईले सोमबार बेलुका ६ बजेसम्म आउने दलहरूलाई सेवा दिइने जानकारी दिँदै भोलिसम्म सबै राजनीतिक दलहरूले बन्दसूची बुझाइसक्ने अनुमान व्यक्त गरे ।
उनले कानुनी व्यवस्थाअनुसार विभिन्न समूहहरूको समावेशी प्रतिनिधित्व हुने गरी दलहरूले बन्दसूची पेश गर्नेमा आयोग विश्वस्त रहेको पनि बताए ।