खरेलः संयुक्त बैठकले निर्वाचनको माहोल बलियो बनायो, स्वतन्त्र र भयरहित चुनाव सुनिश्चित
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठकले आगामी निर्वाचनको वातावरण अझ बलियो भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिंदै मन्त्री खरेलले भने, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ। स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चितता भएको छ।”
उनले यसअघि हुने द्विपक्षीय र त्रिपक्षीय बैठकहरूभन्दा फरक, सबै सरोकारवालासँग एउटै थलोमा भएको छलफलले निर्वाचनको माहोल तयार पार्न महत्वपूर्ण भूमिका खेलेको बताए। मन्त्री खरेलले सरकारले विशेषगरी संयुक्त सुरक्षाको कार्ययोजना तयार गरी कार्यान्वयनमा राखेको र सम्भावित सुरक्षा चुनौती तथा व्यवस्थापकीय सरोकारबारे गहन छलफल भएको जानकारी पनि दिए।
उनले विगतका निर्वाचनहरूमा देखा पर्ने ‘फेक न्यूज’, ‘मिस इन्फरमेसन’ र ‘डिसइन्फरमेसन’ जस्ता चुनौतीको विषयमा पनि खुला छलफल भएको र सुरक्षा निकायहरूले तयारी पूरा गरेको बताए। केही राजनीतिक दलले निर्वाचन सुरक्षामा चासो देखाएको उल्लेख गर्दै सरकारले त्यसप्रति सचेत रहेको पनि उनले बताए।
मन्त्री खरेलले सरकारले चुनावी वातावरणका लागि निरन्तर संवाद जारी राखेको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित भएको जानकारी दिए। उनले जेनजी आन्दोलनको आधारमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारलाई प्राथमिकतामा राखेको पनि स्मरण गराए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज भएको बैठकमा निर्वाचन तयारी, सुरक्षा र सरोकारवालासँगको समन्वय मुख्य एजेन्डा थियो।