कृषि मन्त्री परियार र चिनियाँ राजदूतबीच द्विपक्षीय कृषि सहकार्यमा छलफल
काठमाडौँ, ५ मंसिर – कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार र नेपालका लागि चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।
भेटमा मन्त्री परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि र द्विपक्षीय व्यापार विस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहयोग नेपालका लागि महत्वपूर्ण भएको बताए।
मन्त्री परियारले भने, “नेपाल–चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पुर्याउने विश्वास हामीले लिएका छौं।”
राजदूत चेन सङले मिश्रित मल उत्पादन, रोगमुक्त भैँसी मासु निर्यात, कृषि प्रदर्शन पार्क स्थापना र क्षमता अभिवृद्धि सम्बन्धी सहयोगमा चीन सकारात्मक रहेको जानकारी दिए।
दुवै पक्षले प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्वमा जोड दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्न र दिगो विकास प्रवर्द्धन गर्न आवश्यक भएकोमा सहमति जनाएका छन्।