हेटौंडामा सडक संरक्षण कार्य सुरु, सीमा खाली गर्न होटल–आवास गृहलाई सूचना
हेटौंडा, मंसिर १९ – सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक संरक्षण कार्य सुरु गर्न लागेको छ। महेन्द्र राजमार्गमा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म, र त्रिभुवन राजपथमा बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा खाली गराउने तयारी गरिएको छ।
सडक डिभिजनले मंसिर ५ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै होटल र आवास गृहलाई सीमा खाली गराउन अनुरोध गरेको थियो। अब मंसिर २० गतेदेखि सडक संरक्षण कार्य औपचारिक रूपमा सुरु हुने छ।
यस क्रममा सडक सीमाभित्रका होटल र आवास गृहमा नयाँ अतिथि नबसाल्न आग्रह गरिएको छ। डिभिजनले होटल व्यवसायी संघ हेटौंडालाई पत्र पठाएर सबै व्यवसायीलाई जानकारी गराउन समेत निर्देशन दिएको छ।
सडकको दिगो संरक्षण र आवश्यक संरचना व्यवस्थापनका लागि उक्त सीमा खाली गर्नु आवश्यक रहेको डिभिजनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पनि समन्वयका लागि सूचित गरिएको छ।