अल जेन मुमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग
काठमाडौंमा सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अल जेन मुमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार देशलाई निकास दिन असफल भएको आरोप लगाउँदै सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको छ।
अल जेन मुमेन्टका मेग खत्रीले आईतबार सिंहदरबारको दक्षिण गेटमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए। उनले भने, “हामीले हिजो गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नु गैरन्यायिक होइन?”
यस्तै, हरिकृष्ण गजुरेलले वर्तमान सरकार पुरानै शैलीमा गएको र भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएको आरोप लगाउँदै भने, “सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प छैन।”
माधव ठकुरीले भने कि सरकार र अल जेन मुमेन्टबीचको द्वन्दले देश संकटतिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरे। डा. शम्भू पोखरेलले प्रदर्शनमा गरिएको धरपकड गैर कानुनी भएको भन्दै सरकारले माफी माग्नुपर्ने माग गरे।
जनक थापाले संविधान प्रदत्त अधिकार कुण्ठित हुँदै गएको अवस्थामा जेनजीको भन्दा ठूलो विद्रोह हुने चेतावनी दिए। अशोक रानामगरले राष्ट्रिय मुक्तिका लागि अल जेन मुमेन्ट नेतृत्व लिने र राजनीतिक निकास दिने दाबी गरे।
आइतबारको प्रदर्शनको क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर र जनक थापलाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्त अनामनगरमा लगेको थियो।