मोरङमा लगातार दोस्रो रात पनि हवाई फायर, एम्बुलेन्सबाट ४८० किलो गाँजा बरामद
विराटनगर, १४ पुस
मोरङ प्रहरीले गाँजा ओसारपसार नियन्त्रणका क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ। केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको हो।
आइतबार राति करिब साढे ११ बजे धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्दा चालक र एम्बुलेन्समा सवार व्यक्ति फरार हुन खोजेका थिए। प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेपछि प्रहरीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको थियो।
हवाई फायरपछि दुवै जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए। एम्बुलेन्सबाट करिब ४८० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले एक राउण्ड हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्। उनीहरूको साथबाट करिब ३३० किलो गाँजा बरामद गरिएको थियो।
लगातार दुई रातमा ठूलो परिमाणमा गाँजा बरामद भएपछि मोरङ जिल्लामा लागुऔषध ओसारपसारविरुद्ध प्रहरीले कडाइ बढाएको जनाएको छ।