इलामका विपद्ग्रस्त सडक–पुल मर्मतका लागि २ अर्ब १९ करोड स्रोत सहमति
इलाम । गत असोज १८ र १९ गतेको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडक र पुल मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेपछि अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ। चालू आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा पनि गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडक र पुल संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सडक विभागलाई तत्काल टेण्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। उक्त कार्य इलामस्थित सडक विभाग मातहतको सडक डिभिजनले कार्यान्वयन गर्नेछ।
२३ असोजमा इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरिएको थियो। २५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर क्षतिको निरीक्षण गरेका थिए। टोलीले प्रभावित परिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो।
स्रोत सहमति अनुसार सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ। यसअन्तर्गत माइखोला पुल राजदुवालीका लागि २० करोड, माइखोला पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माणका लागि ५–५ करोड र मेची करिडोरको बैकल्पिक सडक निर्माणका लागि १४ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ।
यसमा चालू आवमा मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली र माइखोला पुल वेलासेका लागि क्रमशः ५ र १० करोड, मेची करिडोरका लागि ४ करोड तथा दुई बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा गरिएको छ।
सरकारी स्रोतका अनुसार यी पहलले इलामका विपद्ग्रस्त सडक र पुलको पुनर्निर्माणलाई तीव्रता दिनेछ र जनजीवन पुनःसामान्य बनाउने कार्यमा मद्दत पुग्नेछ।