राजदूत छन सङको प्रतिबद्धता: जहाँ रहे पनि नेपालको विकासमा सहयोग
काठमाडौँ, ६ पुस ।नेपालका लागि चीनका राजदूत छन सङले चीन–नेपाल सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तीन वर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा नेपालप्रतिको आत्मीयता व्यक्त गर्दै जुनसुकै जिम्मेवारीमा रहे पनि नेपालका लागि सक्दो सहयोग जारी रहने बताए।
नेपाल र नेपाली सधैँ आफ्नो मन–मस्तिष्कमा रहने उल्लेख गर्दै उनले नेपाल सरकार, कर्मचारी वर्ग, कूटनीतिक क्षेत्रका सहकर्मी, सञ्चारकर्मी तथा नेपाली समाजका विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।
समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, उद्योगपति, वरिष्ठ सञ्चारकर्मी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।