इन्टरपोल रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ, यूएईबाट नेपाल ल्याइयो
१४ पुस, काठमाडौं । ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन) तथा संगठित अपराधसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार बागलुङ नगरपालिका–२, श्रीनगर घर भएका जावेद अनवर दीन यूएईबाट पक्राउ परेका हुन्। उनलाई एनसीबी अबुधाबी, यूएईको समन्वयमा नियन्त्रणमा लिई सोमबार नेपाल फिर्ता ल्याइएको हो।
उक्त मुद्दामा संलग्न रही फरार रहेका दीनविरुद्ध २०७७ भदौ ८ गते इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार पक्राउ परेका दीनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बुझाइएको छ।