बंगलादेशमा व्यापक हिंसा, डेली स्टार र प्रथम आलो कार्यालयमा आगजनी
बंगलादेशमा शेख हसिनाविरोधी नेता उस्मान हादीको मृत्यु भएपछि देशभर हिंसा भड्किएको छ। बिहीबार रातिदेखि राजधानी ढाकासहित विभिन्न शहरमा प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू भएका छन्।
प्रदर्शनकारीहरूले देशका दुई ठूला सञ्चारगृह ‘डेली स्टार’ र ‘प्रथम आलो’का कार्यालयमा जबर्जस्ती प्रवेश गरी तोडफोड र आगजनी गरेका छन्। घटनाका कारण दुवै मिडिया संस्थानका प्रिन्ट तथा अनलाइन सेवा ठप्प भएका छन्। डेली स्टारकी रिपोर्टर जैमा इस्लामले कार्यालयभित्र धुवाँ भरिएपछि ज्यान जोखिममा परेको भन्दै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन्।
यसैबीच, पूर्व राष्ट्रपति तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको निवासमा पनि तोडफोड गरिएको छ। शेख हसिनाको पार्टी अवामी लिगका ढाका, राजशाही र चटगाँउस्थित कार्यालयहरूमा आगजनी भएको स्थानीय मिडियाले जनाएका छन्।
उस्मान हादी जुलाई २०२४ मा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए। चुनाव प्रचारका क्रममा डिसेम्बर १२ मा उनको टाउकोमा गोली प्रहार गरिएको थियो। उपचारका लागि सिंगापुर लगिएका हादीको छ दिनपछि मृत्यु भएको हो। उनका नातेदारहरूका अनुसार शव शुक्रबार साँझ बंगलादेश ल्याइनेछ र शनिबार ढाकामा अन्तिम संस्कार गरिनेछ।
हादीको मृत्युपछि ढाका विश्वविद्यालयस्थित शेख मुजिबुर रहमान हलको नाम परिवर्तन गरी ‘शहीद उस्मान हादी हल’ राखिएको छ। चुनाव आयोगले हादीको मृत्युमा शोक व्यक्त गर्दै उनलाई संघर्षशील युवा नेता भनेको छ।
यसैबीच, माइमन्सिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा दीपू चन्द्र दास नामका एक हिन्दू युवकको कुटपिट गरी हत्या गरिएको छ। प्रहरीका अनुसार उनको शव नग्न अवस्थामा रूखमा झुण्ड्याएर आगो लगाइएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको भए पनि अहिलेसम्म मुद्दा दर्ता भएको छैन।
खुलनामा शालुआ प्रेस क्लबका अध्यक्ष तथा पत्रकार इमदादुल हक मिलनको गोली हानी हत्या गरिएको छ। चिया पसलमा बसेका बेला मोटरसाइकलमा आएका चारजनाले उनीमाथि गोली चलाएको प्रहरीले जनाएको छ। घटनामा एक जना घाइते छन्।
खेलकुद मन्त्री आसिफ महमूद सजीब भुइयाँले हिंसात्मक गतिविधिमा वास्तविक आन्दोलनकारीको संलग्नता नरहेको दाबी गर्दै केही समूहले आन्दोलन भड्काउन खोजेको आरोप लगाए।
बंगलादेशका अन्तरिम राष्ट्रपति मुहम्मद युनुसले हिंसात्मक घटनापछि ढाकामा उच्चस्तरीय बैठक बोलाएका छन्। उता, भारतले आफ्ना नागरिक र विद्यार्थीलाई बंगलादेशमा सतर्क रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
स्थिति अझै तनावपूर्ण रहेकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ।