बैंकिङ क्षेत्रमा आक्रमण निन्दनीय, सुधारका सुझाव प्रस्तुत
१४ पुस, काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा अध्यक्ष कोइरालाले बैंकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढाएको बताए। उनले भने, “ऋण दिने र लिने विषय कानूनमा स्पष्ट उल्लेख छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद् छ।”
कोइरालाले कतिपय व्यक्तिले बिना आधार ऋण मिनाहा आश्वासन दिने र अतिरञ्जित विषयमा नफस्न पनि आग्रह गरे। उनले बैंकिङ क्षेत्र अन्य क्षेत्रमा भन्दा बढी पारदर्शी भएको र यस क्षेत्रमा समस्या आउँदा अन्य क्षेत्रमा पनि असर पर्ने भएकाले सचेत रहनुपर्ने बताए।
बैंकिङ क्षेत्रमा पचास हजारभन्दा बढी रोजगारी रहेका कारण यस क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउनुपर्ने अध्यक्ष कोइरालाको भनाइ थियो। उनले वर्तमानमा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि माग अपेक्षाअनुसार नभएको उल्लेख गरे। साथै, पछिल्लो समय राजनीतिक उतारचढावका कारण कर्जा प्रवाह कम भएको र लगानीकर्ताको मनोबल कमजोर भएको बताए।
त्यस अवसरमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको नियमन बढी भएको र केन्द्रीय बैंकले उदार तथा विवेकशील नियमन गर्नुपर्ने बताए। उनले भने, “नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा राम्रो छ, तर आवश्यकभन्दा बढी कडाइले अन्य बैंकमा असर पुग्छ। बैंकहरू स्वनियमनमा रहँदा राम्रो हुन्छ।”
डा. कार्कीले बैंकिङ क्षेत्र सुधारका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन सुझाव प्रस्तुत गरेका छन्। उनीका अनुसार नेपाल–भारतबीच खुला सीमा र उच्च ब्याजदरका कारण पुँजी पलायन भइरहेको छ र एउटा बैंकको गल्तीले अर्को बैंकलाई असर पुग्ने भएकाले केन्द्रीय बैंकले सचेत रहनुपर्ने बताइएको छ।
उनले प्रतिवेदनमार्फत केन्द्रीय बैंकको संरचनागत सुधार, नियमनमा नरम नीति र अनावश्यक नियम हटाउने सुझाव दिएका छन्। अध्यक्ष कोइरालाले बैंकिङ क्षेत्र सुधारका लागि यी सुझावलाई व्यवहारिक रूपमा लागू गर्न आवश्यक रहेको जोड दिए।