एमाले ११औँ महाधिवेशनबाट शंकर पोखरेल महासचिवमा पुनः निर्वाचित
काठमाडौं, पुस ३ — नेकपा एमालेको ११औँ महाधिवेशनबाट शंकर पोखरेल महासचिवमा पुनः निर्वाचित भएका छन्। १०औँ महाधिवेशनमा पनि महासचिव बनेका पोखरेल यसपटक अध्यक्ष केपी शर्मा ओली समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन्।
पोखरेलले १ हजार २२८ मत प्राप्त गरी महासचिवमा जित हात पारे भने उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाए। एमालेभित्र वैचारिक नेता, रणनीतिकार तथा अध्यक्ष ओलीका विश्वासपात्र राजनीतिक आर्किटेक्टका रूपमा परिचित पोखरेल पुनः नेतृत्वमा स्थापित भएका छन्।
पार्टी संकट र संक्रमणका बेला ‘नेतृत्व विस्थापन होइन, संस्थागत सुदृढीकरण आवश्यक’ भन्ने अडान लिँदै आएका पोखरेल पछिल्लो समय ओलीको राजनीतिक लाइन निर्धारण गर्ने प्रमुख पात्र मानिन्छन्। कांग्रेस–एमाले सहकार्यमा सरकार बनाउने अवधारणाको योजनाकारसमेत उनै रहेको नेताहरूको बुझाइ छ।
२०१९ फागुन १५ गते दाङमा जन्मिएका पोखरेलको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। मदन भण्डारीको वैचारिक मार्गदर्शनमा जबजका प्रमुख व्याख्याकार बनेका उनी अनेरास्ववियु, केन्द्रीय समिति, स्थायी समिति हुँदै २०७८ मा महासचिव बनेका थिए।
संसदीय राजनीति र सरकारमा समेत अनुभवी पोखरेल सूचना तथा सञ्चार मन्त्री तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत भइसकेका छन्। सुशासन, वैचारिक स्पष्टता र संगठन निर्माणमा केन्द्रित नेताका रूपमा चिनिने पोखरेल पुनः महासचिवमा निर्वाचित भएसँगै एमालेको आगामी राजनीतिक दिशा थप स्पष्ट भएको विश्लेषण गरिएको छ।