सरकारले १५९ सार्वजनिक संस्थानमा ९ खर्ब ३० अर्ब लगानी गर्यो, प्रतिफल कमजोर
काठमाडौं, १९ मंसिर – सरकारले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर र ऋण लगानीका रूपमा कुल ९ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार, ११६ संस्थानमा सेयर लगानी ४ खर्ब ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। सबैभन्दा बढी सेयर लगानी नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा भएको छ।
सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब रुपैयाँ छ, जसमा आन्तरिक स्रोतबाट १ खर्ब ५८ अर्ब र वैदेशिक स्रोतबाट ३ खर्ब ६७ अर्ब रहेको छ। बढी ऋण लगानी भएका निकायमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन्।
गत आर्थिक वर्षमा सरकारले सेयरबाट ५ अर्ब ५२ करोड र ऋणबाट ३५ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेको छ। तर, लगानीको प्रतिफल भने कमजोर देखिएको छ। समयमै साँवा र ब्याज भुक्तानी नगरेका कारण कूल भाका नाघेको रकम ४ खर्ब ८ करोड रुपैयाँ पुगेको छ।
भाका नाघेको राशि बढी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान र नेपाल नागरिक उड्डयन प्राधिकरण रहेका छन्।
प्रतिवेदनले सरकारको लगानीको प्रभावकारी प्रयोग र समयमै भुक्तानी सुनिश्चित गर्न आवश्यक रहेको संकेत गरेको छ।