कञ्चनपुर कारागारभित्रको झडप छानबिन गर्न तीन सदस्यीय समिति गठन
कञ्चनपुर । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप घटनाको छानबिन गर्न स्थानीय प्रशासनले तीन सदस्यीय समिति गठन गरेको छ ।
गत शुक्रबार कारागारभित्र कैदीबन्दी र नाइकेबीच विवाद बढ्दा झडप भएको थियो । उक्त घटनामा आठ जना कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना उपचारपछि कारागार फर्किसकेका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार घटनाको यथार्थ पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् ।
समितिलाई छानबिनका लागि सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए ।
“आज पनि कारागारको अनुगमनमा जाँदैछौँ,” उनले भने, “घटनाको विस्तृत छानबिनपछि समितिले प्रतिवेदन पेस गर्नेछ।”
कारागारभित्र नाइकेहरूले एकाधिकार गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरूले आफूहरूले पाउने सेवा–सुविधामा आर्थिक चलखेल गर्ने तथा कारागारभित्र अवैध गतिविधि सञ्चालन गर्ने गरेको आरोप लगाएका छन् ।