नबिल बैंकले त्रिशूली जलविद्युत् परियोजनाको काउन्टर ग्यारेन्टीबापत १ अर्ब ८ करोड फिर्ता
७ पुस, काठमाडौं । नबिल बैंकले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको काउन्टर ग्यारेन्टीबापत १ अर्ब ८ करोड रुपैयाँ फिर्ता पाएको छ।
चीनको चाइना एभरब्राइट बैंक लिमिटेडले जारी गरेको काउन्टर ग्यारेन्टीअनुसार रकम भुक्तानी गर्न चीनको अदालतले आदेश दिएपछि नबिल बैंकले उक्त रकम प्राप्त गरेको हो।
त्रिशूली थ्री–बी जलविद्युत् परियोजनाको निर्माण ठेक्का चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले पाएको थियो। नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको समान ३०–३० प्रतिशत सेयर सहभागितामा स्थापना भएको त्रिशूली जलविद्युत् कम्पनीले आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने गरी ३० फागुन २०७४ मा ठेक्का सम्झौता गरेको थियो।
सम्झौताअनुसार २९ फागुन २०७७ भित्र आयोजना सम्पन्न हुनुपर्ने भए पनि निर्माण कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले ३० मंसिर २०८० मा ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो। उक्त आयोजनाका लागि नबिल बैंकले बैंक ग्यारेन्टी प्रदान गरेको थियो भने काउन्टर ग्यारेन्टी चाइना एभरब्राइट बैंकले दिएको थियो।
नबिल बैंकले हालको विनिमय दरअनुसार ७४ लाख ४९ हजार ३ सय ८६ अमेरिकी डलर, अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बराबर रकम त्रिशूली जलविद्युत् कम्पनीलाई भुक्तानी गरेको थियो। त्यसपछि नबिल बैंकले उक्त रकम फिर्ता माग गर्दै चाइना एभरब्राइट बैंकलाई पत्राचार गरेको थियो।
चाइना एभरब्राइट बैंकले विषय अदालतमा विचाराधीन रहेको जनाउँदै भुक्तानी दिन अस्वीकार गरेपछि नबिल बैंक कानुनी प्रक्रियामा गएको थियो। चीनको छेन्दु फाइनान्सियल कोर्टले नबिल बैंकको पक्षमा फैसला गरेपछि आइतबार चाइना एभरब्राइट बैंकले रकम भुक्तानी गरेको नबिल बैंकले जनाएको छ।
सुइफा–आन्हे ग्रुप कम्पनी लिमिटेडले सो फैसलाविरुद्ध चोङकिङ हाइयर पिपल्स कोर्टमा पुनरावेदन दायर गरे पनि २३ सेप्टेम्बर २०२५ मा भएको सुनुवाइपछि अदालतले पुनः नबिल बैंककै पक्षमा फैसला सुनाएको थियो।