सुदूरपश्चिममा जलवायु अनुकूलन र जीविकोपार्जन कार्यक्रम सञ्चालन
सुदूरपश्चिम प्रदेशका बाजुरा र बझाङ जिल्लामा जलवायु उत्थानशील भूपरिधि तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन भइरहेको छ। नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा कार्यान्वयन भइरहेको यस कार्यक्रमले जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको आयआर्जन र जीवनस्तर सुधार गर्ने लक्ष्य राखेको छ।
बाजुराका नौ स्थानीय तह र बझाङको चार गाउँपालिका तथा जयपृथ्वी नगरपालिकामा आगामी पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रममा खानेपानी, कृषि, वन, पर्यटन र पूर्वाधार समेटेर एकीकृत जलाधार व्यवस्थापन, भूस्खलन न्यूनीकरण, वृक्षारोपण र हरित आयआर्जनका कार्यक्रम सञ्चालन गरिने प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए।
कार्यक्रमअन्तर्गत बडिमालिका र खप्तड जोड्ने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धन र आयआर्जनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय महिला, दलित, आदिवासी र आर्थिक रूपमा पिछडिएका समुदायहरू यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।