अवैध रूपमा सञ्चालित अस्पतालसहित चार औषधि पसल सिल
७ पुस, जनकपुरधाम । सरकारले तोकेको मापदण्डविपरीत दर्ता नगरी अवैध रूपमा सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधामसहित धनुषा जिल्लामा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि सम्बन्धित अस्पताल तथा औषधि पसललाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।
कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरधामको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकको प्रशान्त मेडिकल हल, माछा बजारस्थित राघव सर्जिकल पसल र वीरेन्द्र बजारको कम्युनिटी सर्भिस अस्पताललाई सिल गरिएको हो।
अनुगमनका क्रममा निजी अस्पतालसहित कूल दुई दर्जन औषधि पसलको निरीक्षण गरिएको थियो। तीमध्ये ११ वटा औषधि पसलमा फर्मासिस्ट नपाइएको तथा आफूखुसी औषधि बिक्री–वितरण गरेको पाइएकोले पहिलो पटकका लागि चेतावनी दिइएको प्रमुख साहले जानकारी दिए।