एकता प्रयास असफल भएपछि उज्यालो नेपाल पार्टी समानुपातिक सूची टुंग्याउँदै
१४ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) को अन्य राजनीतिक दलसँगको एकता प्रयास सफल हुन नसकेपछि पार्टी समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने प्रक्रियामा जुटेको छ।
उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतसँग एकताका लागि संवाद गरेको थियो। विशेषगरी काठमाडौंका मेयर बालेन शाहसँग एकता गर्न उनेपाले पहिलो प्राथमिकता दिएको थियो। बालेन शाह रास्वपासँग नजिकिएपछि पनि त्रिपक्षीय संवादसमेत भएका थिए।
तर पदीय बाँडफाँटलगायत विषयमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन लागेको हो। पार्टीका प्रवक्ता डा. राजु थापाले एकता सम्भव नभएकाले आफ्नै दलबाट उम्मेदवारको नाम टुंग्याउने काम भइरहेको जानकारी दिए।
अनलाइनखबरसँग कुरा गर्दै थापाले भने, “एकता हुन सकेन । त्यसैले अब हामी हाम्रो दलबाट समानुपातिक उम्मेदवार हुने नामहरू निश्चित गर्दैछौं।”
हिजो राति अबेरसम्म पनि एकताका लागि प्रयास जारी रहेको बताइएको छ। रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच हिजो राति पनि संवाद भएको स्रोतले जनाएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको नाम पेस गर्ने अन्तिम मिति आज तोकेको छ। आयोगका अनुसार दलहरूले समावेशीताको आधारमा ११० जना उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने व्यवस्था छ।