कांग्रेसले बागी उम्मेदवारमाथिको कारबाही गर्यो फुकुवा
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका व्यक्तिहरूमाथिको कारबाही फुकुवा गरेको छ।
पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयसम्बन्धी जानकारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले तल्ला कमिटीहरूमा परिपत्र पठाएर दिएका छन्।
परिपत्रमा भनिएको छ कि, “विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक वा पार्टी अनुशासन विपरीत काम गरेका व्यक्तिहरूलाई केन्द्रीय अनुशासन समितिले गरेका निष्कासन, निलम्बन र स्वतः कारबाहीको बाँकी अवधि मिनाहा/माफी गर्ने निर्णय गरिएको छ।”
यस निर्णयअनुसार कारबाही फुकुवा भएकाहरूको पार्टी सदस्यता क्रियाशील रहिरहने र सम्बन्धित पदहरू नरहने गरी नवीकरण गर्ने व्यवस्था पनि गरिनेछ।