उपत्यकामा ट्राफिक नियन्त्रणः लामो दूरीका बस अब बसपार्कबाट मात्रै छुट्ने
१८ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकामा दिनहुँ गहिरिँदो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएका बसपार्कबाट मात्रै छुट्नुपर्ने नियम कार्यान्वयनमा आएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पछिल्ला दिनमा लामो दूरीका गाडीहरूले स्थानीय (लोकल) बसजस्तै सडकको किनारमै जथाभावी रोकेर यात्रु चढाउने–ओराल्ने गरिरहेको पाइएपछि राजधानीमा, विशेष गरी ‘पिक आवर’मा, जामको समस्या गम्भीर बन्दै गएको छ। “यही अव्यवस्थित अभ्यास रोक्न बसपार्कबाट मात्र गाडी छुट्ने व्यवस्था लागू गरिएको हो,” उनले बताए।
ट्राफिक प्रहरीले लामो दूरीका सवारी साधनलाई दिँदै आएको बाटो इजाजतपत्र (रुट पर्मिट) पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि देखिएकाले सम्बन्धित निकायसँग आवश्यक पहल भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए।
जामका कारण नागरिकको दैनिकीमा गम्भीर प्रभाव पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको ट्राफिकको भनाइ छ।
यससँगै ट्राफिक प्रहरीले सडक अनुशासन कडाइका साथ कार्यान्वयन गरिरहेको छ। रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको छ। यी कक्षालाई अझ प्रभावकारी बनाउन योजना बनाइएको छ।
यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि उपलब्ध गराइएको छ। यसका लागि पहिले प्रयोगरत मोबाइल एप एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने ट्राफिक कार्यालयले जनाएको छ। नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्था कार्यान्वयनसँगै अव्यवस्थित पार्किङ, अनावश्यक सवारी रोकावट र यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास ट्राफिक प्रहरीले व्यक्त गरेको छ। उपत्यकामा सहज तथा सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाएको छ।