काठमाडौंमा स्पा र गेस्टहाउसबाट ८ नाबालिका उद्धार, एक गर्भवती भेटियो
६ पुस, काठमाडौं – मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंका विभिन्न स्पा र गेस्टहाउसबाट आठ नाबालिका उद्धार गरेको छ, जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको छ। उद्धार गरिएका सबैलाई ‘सेफ हाउस’मा राखिएको छ।
ब्युरोका अनुसार उद्धारको क्रममा ठमेलको गोल्डेन स्पा, चाबहिलको फायर लन्च एण्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट नाबालिकाहरूलाई उद्दार गरिएको हो।
यस प्रकरणमा पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुलीकी गीताकुमारी आचार्य, सल्यानका गोविन्द बुढाथोकी, बुढानिलकण्ठका हेमन्त श्रेष्ठ, बझाङका हरिभक्त गिरी र कैलालीका भीमबहादुर साउद रहेका छन्। उनीहरूको अनुसन्धान अघि बढाइएको छ।
ब्युरोका एसएसपी कृष्ण पंगेनीले नाबालिकालाई यौनधन्दामा लगाउनेहरूको पत्ता लगाएर अनुसन्धान भइरहेको जानकारी दिए।