सुमात्रामा भीषण बाढी र पहिरो: मृतक संख्या १ हजार नाघ्यो, २१८ बेपत्ता
सुमात्रा (इन्डोनेसिया) — इन्डोनेसियाको सुमात्रा द्वीपका तीन प्रान्तमा आएको भीषण बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २१८ जना अझै बेपत्ता छन्।
विपद्का कारण पूर्वाधारमा व्यापक क्षति पुगेको छ। बीएनपीबीका अनुसार करिब १ हजार २ सय सार्वजनिक संरचनामा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनामा २१९ स्वास्थ्य संस्था, ५८१ शैक्षिक संस्था, ४३४ पूजास्थल, २९० कार्यालय भवन तथा १४५ पुल रहेका छन्।
बीएनपीबीको डाटा तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले उप–जिल्ला स्तरमा डाटा प्रमाणीकरण र नागरिक अभिलेखसँग क्रस–रेफरेन्सिङको काम जारी रहेको जानकारी दिए। उनका अनुसार पीडितहरूलाई नाम र ठेगानाका आधारमा प्रमाणित गर्ने प्रक्रिया केही जिल्लामा अझै चलिरहेको छ।
यसैबीच, इन्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तोले आचे प्रान्तका विपद् प्रभावित क्षेत्रहरूको भ्रमण गर्दै सरकारले प्रभावित समुदायका आधारभूत आवश्यकताहरू पूरा गर्न निरन्तर काम गरिरहेको बताए। उनले उद्धार, राहत र पुनःस्थापना कार्यलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे।