उपराष्ट्रपतिद्वारा मधेसका दलित समुदायको सशक्तीकरणमा जोड
ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई–मधेसका सीमान्तकृत दलित समुदायलाई शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचमा मूलधारमा ल्याउन थप सक्रिय प्रयास आवश्यक रहेको बताएका छन्।
सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले आयोगले सीमान्तकृत दलित समुदायको उत्थानमा अझ सक्रिय भूमिका खेल्नुपर्ने बताएका हुन्।
उपराष्ट्रपति यादवले दलित समुदायभित्र विद्यमान विभेद र छुवाछुतको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसलाई अन्त्य गर्न आयोगको अग्रसरता अपरिहार्य भएको बताए। उनले भने, “समाजमा रहेका विसंगति र भेदभाव हटाउन राष्ट्रिय दलित आयोगले प्रतिबद्ध भएर अघि बढ्नुपर्ने चुनौती छ।”
पञ्चवर्षीय रणनीतिक योजनाले आयोगको संस्थागत सुदृढीकरण, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र जातीय भेदभाव तथा छुवाछुत अन्त्यमा सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरे।