कृषि क्षेत्रमा सरकारको निर्णयमाथि किसान महासंघको विरोध
काठमाडौँ, १८ मंसिर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारले कृषिक्षेत्रमा लिएको निर्णयलाई किसानविरोधी र स्वदेशी उत्पादन ध्वस्त पार्ने खालको बताउँदै कडा विरोध जनाएको छ। महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बिहीबार जारी प्रेस विज्ञप्तिमा विदेशी मह आयात अनुमति, पराल ढुवानीमा रोकजस्ता कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
महासंघका अनुसार, विगतमा विदेशी मह आयातमा प्रतिबन्ध रहँदा पनि बजार अभावले माहुरीपालक किसान कठिन परिस्थितिमा थिए। तर हाल सरकारले कानुन विपरीत विदेशी मह आयात गर्न अनुमति दिँदा स्वदेशी किसान र माहुरीपालक क्षेत्र तहसनहस हुने खतरा रहेको उनीहरूको ठहर छ। महासंघले सरकारले फिर्ता लिनुका साथै स्वदेशी मह उत्पादन प्रवर्द्धनका लागि तालिम, अनुदान र अनुगमन कार्यक्रम अघि बढाउन माग गरेको छ।
त्यस्तै, धान-पराल ढुवानी र बिक्री वितरण गर्ने सिजनमा परालको ढुवानी पूर्णरूपमा बन्द गरिएकोमा महासंघले आपत्ति जनाएको छ। संघले प्रहरीले ओभरलोडको नाममा तराईका विभिन्न जिल्लामा ट्रक रोकेर नेपालभित्र पठाउन नदिएको, तराईमा सस्तो मूल्यमा भारत निर्यातमा सहयोग गर्ने नीति किसानविरोधी र भ्रष्ट रहेको आरोप लगाएको छ।
महासंघले सरकारलाई जनविरोधी तथा किसानविरोधी निर्णय नगर्न चेतावनी दिँदै, माग पूरा नगरे देशभर संघर्षको विकल्प नरहने घोषणा गरेको छ।