बङ्गलादेशको दाबी भारतद्वारा अस्वीकार, स्वतन्त्र र निष्पक्ष चुनावमा समर्थन दोहोर्यायो
काठमाडाैँ — भारत सरकारले बङ्गलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय चुनावका लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ। दुई छिमेकी मुलुकबीच कूटनीतिक संवाद तीव्र भइरहेका बेला भारतको यो प्रतिक्रिया आएको हो।
भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा “१४ डिसेम्बर २०२५ को प्रेस नोटमार्फत बङ्गलादेशको अन्तरिम सरकारले गरेको दाबीलाई भारतले स्पष्ट रूपमा अस्वीकार गर्दछ” भनिएको छ।
यो प्रतिक्रिया बङ्गलादेशको विदेश मन्त्रालयले पूर्व प्रधानमन्त्री शेख हसिनाले भारतबाट हिंसा भड्काएको आरोप लगाउँदै भारतीय उच्चायुक्तलाई बोलाएको केही समयपछि आएको हो।
भारतले आफ्नो दीर्घकालीन अडान दोहोर्याउँदै बङ्गलादेशमा शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, निष्पक्ष, समावेशी तथा विश्वसनीय चुनाव हुनुपर्नेमा जोड दिएको छ। विदेश मन्त्रालयका अनुसार भारतले कहिल्यै पनि आफ्नो भूमि बङ्गलादेशका मित्रवत जनताको हितविरुद्ध प्रयोग हुन नदिएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा बङ्गलादेशको अन्तरिम सरकारले आन्तरिक कानून व्यवस्था मजबुत बनाउँदै शान्तिपूर्ण चुनाव सम्पन्न गराउन आवश्यक सबै कदम चाल्ने अपेक्षा भारतले व्यक्त गरेको छ।
यसअघि बङ्गलादेशले भारतमा रहेका पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगी माग गर्दै उनीहरूले हिंसा भड्काएको र आगामी चुनावमा बाधा पुर्याउने प्रयास गरेको आरोप लगाएको थियो। ढाकाले भारतमा रहेका अवामी लिगका केही सदस्य बङ्गलादेशविरुद्ध गतिविधिमा संलग्न रहेको दाबी पनि गरेको छ।
बङ्गलादेशको विदेश मन्त्रालयका अनुसार ती गतिविधिमा चुनावी प्रक्रियामा अवरोध पुर्याउने उद्देश्यले आतङ्कवादी कार्यहरूको योजना, सङ्गठन तथा सहयोगसमेत समावेश रहेको आरोप छ। साथै, बङ्गलादेशी राजनीतिक नेता सरिफ उस्मान हादीमाथि भएको हत्या प्रयासमा संलग्न संदिग्धहरू भारत भाग्न नपाउन् भनी सहयोगको माग गरिएको छ।
बङ्गलादेशका अनुसार भारतीय उच्चायुक्तले भारत बङ्गलादेशमा शान्तिपूर्ण चुनावका लागि प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेका छन्।