बेलौरीमा करेन्ट लागेर महिलाको मृत्यु
१४ पुस, काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार सोमबार बिहान करिब साढे ८ बजे बेलौरी नगरपालिका–७ पौलाकी हरिना चौधरी कपडा सुकाउने क्रममा नजिकैको विद्युत् तारसँग सम्पर्कमा आउँदा करेन्ट लागेकी थिइन् ।
करेन्ट लागेपछि घाइते चौधरीलाई तत्काल उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर उपचारकै क्रममा बिहान ९:५० बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।