एभरेस्ट समिटियर्स समिट २०२६’ काठमाडौंमा आयोजना हुने
१३ पुस, काठमाडौं। एभरेस्ट एलायन्स नेपालले ‘हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर’ भन्ने मूल नारासहित ‘एभरेस्ट समिटियर्स समिट २०२६’ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ।
समिट अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सन् २०२६ मे २७ तारिखमा काठमाडौंमा आयोजना हुनेछ। तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक क्षणको स्मरणमा समिट आयोजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्था, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहनेछ। समिटमा पर्वतारोहण इतिहास, आरोही सुरक्षा, जलवायु परिवर्तन, हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, दिगो हिमाली पर्यटन र नीतिगत सुधारका विषयमा छलफल हुने जनाइएको छ।
यसअघि सन् २०२५ मा सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिटले अन्तर्राष्ट्रिय चर्चा पाएको उल्लेख गर्दै एभरेस्ट एलायन्स नेपालले दोस्रो संस्करणलाई अझ प्रभावकारी बनाइने जनाएको छ। एकदिने समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल छलफल र नीतिगत संवादहरू समावेश हुनेछन्।
एभरेस्ट एलायन्स नेपालले समिट सफल बनाउन सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, प्रायोजक, शैक्षिक संस्था र सञ्चार माध्यमसँग सहकार्यका लागि आह्वान गरेको छ। साथै, समिटमा सहभागी हुन इच्छुक सगरमाथा आरोही तथा सरोकारवालाहरूका लागि दर्ता प्रक्रिया खुला गरिएको जानकारी दिएको छ।