लोसपा–जसपा एकता सहमतिपछि अशोक राई दबाबमा
१४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच पार्टी एकताको सहमति भएसँगै जसपा नेपालका अध्यक्ष अशोक राई दबाबमा परेका छन् । एकताको निर्णय लिन राईमाथि सहअध्यक्ष रेणु यादव तथा पूर्वमन्त्रीसमेत रहेका नेता प्रदीप यादव पक्षले दबाब बढाएका हुन् ।
स्रोतका अनुसार अध्यक्ष राई एकताका लागि तयार नभए सहअध्यक्ष रेणु यादवको नेतृत्वमा बहुसंख्यक नेताहरूले विद्रोह गर्ने चेतावनी दिएका छन् । स्रोतले भन्यो, “अध्यक्ष अशोक राई एकतामा नआए रेणु यादव नेतृत्वमा ठूलो समूह अलग हुने सम्भावना छ ।”
आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाबीच औपचारिक रूपमा पार्टी एकताको सहमति भएको थियो ।
यसैबीच, राई नेतृत्वको जसपा नेपालका नेता प्रदीप यादवले उपेन्द्र यादवसँग एकताका विषयमा निरन्तर छलफल गर्दै आएका छन् । उनले पार्टीभित्र एकताबारे छलफल भइरहेको स्वीकार गर्दै भने, “छलफल जारी छ, सायद आज नै केही नयाँ निर्णय सुन्न पाउनुहुन्छ ।”
जसपाका नेता राजकिशोर यादवले पनि रेणु यादवको नेतृत्वमा जसपा नेपालको टोली एकता प्रक्रियामा सामेल हुन लागेको जानकारी दिएका छन् । उनका अनुसार पार्टीभित्र एकताका पक्षमा माहोल बन्दै गएको छ ।