रूपन्देही सुधार केन्द्रमा युवकको मृत्यु, परिवारले निष्पक्ष अनुसन्धानको माग
लन्डन/रूपन्देही । बेलायत बस्दै आएका २७ वर्षीय नारायण ढकालको नेपालमा सुधार केन्द्रमा रहँदा शंकास्पद मृत्यु भएपछि उनका परिवारले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
विगत केही वर्षदेखि बेलायतमा बस्दै आएका ढकाललाई गत कात्तिक २५ गते रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरिएको थियो। तर आइतबार केन्द्रले ढकालको मृत्यु भएको जानकारी परिवारलाई दिएको थियो।
ढकालका आफन्तले केन्द्रभित्र कुटपिटबाटै मृत्यु भएको आरोप लगाएका छन्। केन्द्रले भने ढकाल भाग्न खोज्दा भवनमाथिबाट हामफाल्ने क्रममा लडेको र उपचारका क्रममा मृत्यु भएको दाबी गरेको छ।
परिवारले सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिइसकेका छन्। जाहेरीपछि प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
पीडितका मामा रामगोपाल भण्डारीका अनुसार ढकाललाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको थियो र त्यसपछि परिवार वा आफन्तसँग भेट गर्न दिइएको थिएन। पहिलो महिनाको ३० हजार रुपैयाँ भुक्तानी गरिसक्दा पनि ढकालको मृत्यु भएपछि मात्र परिवारलाई जानकारी दिइएको थियो।
ढकालको बुवा धर्म ढकाल लगायत परिवारले आफ्ना छोराको हत्या भएको भन्दै केन्द्रले पूर्ण जिम्मेवारी लिनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
उल्लेखनीय छ कि केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायू तथा मनोरोग अस्पताल पनि सञ्चालन गर्दै आएको छ।

