पर्सामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपाल प्रवेश
६ पुस, काठमाडौं । पर्सामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ प्रवेश गरेका छन् । उनीहरू भारतीय सीमावर्ती क्षेत्र नजिक रहेको धोबिनी गाउँपालिका–५ भित्र प्रवेश गरेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले जानकारी दिएका छन् ।
अध्यक्ष चौहानका अनुसार भारतीय सुरक्षाकर्मी शुक्रबार हतियारसहित गाडी लिएर नेपाली भूमिमा प्रवेश गरेका थिए ।
‘अनुमति नलिई किन आएको भनेर स्थानीयले प्रश्न गर्दा पनि उनीहरू जबर्जस्ती हाम्रो भूमिमा डुलिरहेका थिए,’ उनले भने, ‘उनीहरू अनुमति बिना नै यहाँको प्रहरी चौकीसम्म पुगेर फर्किएका थिए ।’
भारतीय बर्दीधारी सुरक्षाकर्मीलाई स्थानीयले रोक्ने प्रयास गरेको दृश्यसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त भिडिओमा स्थानीयले ‘यहाँ यसरी आउनुको के इजाजत छ?’ भन्दै प्रश्न गरेको सुनिन्छ ।
यस घटनाबारे प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि भारतीय सुरक्षाकर्मी आएको जानकारी प्राप्त भएको पुष्टि गरे ।
‘भारतीय सुरक्षाकर्मी आएको जानकारी पाएका थियौं,’ उनले भने, ‘पछि हाम्रो प्रहरीसँग समन्वय गरेर उनीहरू फर्किएका छन् ।’
घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ ।