निर्वाचन आचारसंहिता जारी : सञ्चारमाध्यमबाट चुनावी प्रचारमा कडाइ, समय र आकार तोकियो
काठमाडौं, निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था सहितको *निर्वाचन आचारसंहिता, २०८२* जारी गरेको छ।
आचारसंहिताअनुसार राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोमार्फत् निर्वाचन प्रचार–प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटकसम्म विज्ञापन प्रसारण गर्न पाउने छन्। प्रत्येक विज्ञापनको अवधि बढीमा एक मिनेट मात्र हुनुपर्ने व्यवस्था गरिएको छ।
पत्रपत्रिकामार्फत् प्रचार–प्रसार गर्दा भने प्रत्येक दिन कुनै एक पत्रिकामा मात्र बढीमा चार कोलम × २५ सेन्टिमिटर उचाइसम्मको आकारमा प्रचार सामग्री प्रकाशन गर्न सकिने छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका व्यक्तिले पनि टेलिभिजन, रेडियो वा एफएम रेडियोमार्फत् २४ घण्टामा बढीमा चार पटक र एक पटकमा एक मिनेटसम्म प्रचार सामग्री प्रसारण गराउन पाउने छन्। पत्रपत्रिकाको हकमा पनि उम्मेदवारका लागि यही मापदण्ड लागू हुने आयोगले जनाएको छ।
आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकृत भएका अनलाइन सञ्चारमाध्यमबाट मात्र निर्वाचन प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ।
आचारसंहिताअनुसार अनलाइन सञ्चारमाध्यमबाट प्रसारण वा प्रकाशन गरिने निर्वाचनसम्बन्धी सामग्रीमा *स:शुल्क विज्ञापन* भएको स्पष्ट उल्लेख गर्न अनिवार्य गरिएको छ। साथै यस्ता सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति समावेश गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।
राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यममार्फत् रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर तथा समाचारको बीचमा देखिने बक्स विज्ञापनमार्फत् प्रचार–प्रसार गर्न सक्ने व्यवस्था पनि आचारसंहितामा उल्लेख गरिएको छ।
निर्वाचन प्रचार–प्रसारमा लागेको सम्पूर्ण खर्चको विवरण प्रचलित कानुनबमोजिम निर्वाचन खर्च विवरणमा समावेश गरी पेस गर्नुपर्ने आयोगले जनाएको छ। साथै विदेशी सञ्चारमाध्यममार्फत् निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।