क्रान्तिकारी कम्युनिस्ट पार्टी सल्यान सम्मेलन सम्पन्न, उज्वलको नेतृत्वमा १७ सदस्यीय कमिटी
सल्यान, ७ पौष । सल्यान जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो सङ्गठनात्मक उपस्थितिलाई निकै आक्रामक र प्रभावकारी ढङ्गले अगाडि बढाएको छ। यसै सिलसिलामा पार्टीको जिल्ला सम्मेलन २०८२ साल पौष ७ गते जिल्लाको प्रमुख केन्द्र शारदा नगरपालिका-१, श्रीनगरमा भव्यताका साथ सम्पन्न भएको छ।
सम्मेलनले जिल्लामा पार्टीको साङ्गठनिक आधारलाई सुदृढ बनाउँदै आगामी दिनका लागि महत्वपूर्ण रणनीतिक योजनाहरू समेत पारित गरेको छ।
पार्टीका जिल्ला सेक्रेटरी उज्ज्वलको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा ४ नं. क्षेत्रीय ब्युरो इन्चार्ज समीर केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। बिहानदेखि अपराह्नसम्म चलेको सम्मेलनमा केन्द्रीय सदस्य मोतिराम खड्का लगायत जिल्लाभरका प्रभावशाली नेता तथा जुझारु कार्यकर्ता गरी करिब ६० जनाको सक्रिय सहभागिता रहेको थियो।
सम्मेलनमा उपस्थित नेता तथा कार्यकर्ताहरूको उत्साहले सल्यानमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रभाव तीव्र गतिमा विस्तार भइरहेको सन्देश दिएको छ। सम्मेलनको बन्द सत्रले जिल्लाको नेतृत्वमा पुनः विश्वास व्यक्त गर्दै हेमन्त वलीलाई जिल्ला सेक्रेटरीमा चयन गरेको छ भने उहाँको नेतृत्वमा १७ सदस्यीय शक्तिशाली जिल्ला कमिटी गठन गरेको छ।
नबनियुक्त सल्यान जिल्लाको नेतृत्वले जिल्लाका सबै भूगोल र वर्गलाई समेट्दै पार्टीको क्रान्तिकारी लाइनलाई जनस्तरसम्म पुर्याउने संकल्प गरेको छ। विशेष गरी युवाहरूको नेतृत्व र सक्रियतालाई प्राथमिकता दिँदै संगठनलाई थप सुदृढ र जुझारु बनाउने प्रतिबद्धता सम्मेलनले व्यक्त गरेको छ।
राजनीतिक निर्णयहरूको सन्दर्भमा, सम्मेलनले वर्तमान राज्यसत्ता र व्यवस्थाको विरोध गर्दै स्वाधिन सर्बपक्षिय सरकार गठन, आगामी निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्ने, जनसङ्घर्षको कार्यक्रम गर्दै बैज्ञानिक समाजबादको निर्माण गर्ने पार्टीको लाईनलाइ स्थापित गर्दै जाने ऐतिहासिक निर्णय पारित गरेको छ। निर्वाचन बहिष्कारको सन्देश लिएर गाउँ-गाउँसम्म जाने र जनतालाई वैकल्पिक व्यवस्थाको बारेमा सुसूचित गर्ने पार्टीको योजना छ। साथै, साङ्गठनिक विस्तारलाई तीव्रता दिन जिल्लाभरका सबै इलाकाहरूमा सम्मेलन सञ्चालन गर्ने र प्रत्येक वडामा वडा कमिटी गठन गर्ने निर्णय समेत सम्मेलनले सर्वसम्मत रूपमा पारित गरेको छ।
सम्मेलनको समापनका क्रममा नवनियुक्त जिल्ला सेक्रेटरी हेमन्त वलीले सल्यान जिल्लालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको अपराजित किल्ला बनाउने दृढ अठोट व्यक्त गर्नुभयो। उहाँले भ्रष्ट र दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनलाई सल्यानबाट निर्णायक उचाइमा पुर्याउने दाबी समेत गर्नुभयो। जिल्लामा पार्टीको बढ्दो प्रभाव र कार्यकर्ताहरूको बढ्दो आकर्षणले आगामी दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी सल्यानको मुख्य राजनीतिक शक्तिको रूपमा स्थापित हुने निष्कर्ष समेत निकालिएको छ।
