काठमाडौँमा खैरो हिरोइन कारोबार गर्ने चार जना पक्राउ
काठमाडौं — नेपाल प्रहरीले भारतबाट खैरो हिरोइन ओसारपसार गरी काठमाडौँमा बिक्री गर्दै आएका चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ परेकामध्ये सप्तरी–राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारत हरिपुरका २३ वर्षीय राजा कुमार, भारत स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगर रहेका छन्।
काठमाडौँ महानगरपालिका–१३ स्थित पनेरुगाउँमा देव बस्ने कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। भारतीय नागरिक राजा र देवेन्द्र स्कर्पियो गाडीमार्फत भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा चन्द्रागिरि–ढुङ्गे अड्डाबाट ५९२ ग्राम बरामद गरिएको सह–प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।
यसैगरी, पुष्प मगरको साथबाट कोटेश्वर क्षेत्रमा ९३ ग्राम खैरो हिरोइन बरामद गरिएको छ। अनुसन्धानले भारतबाट लागूऔषध ल्याई काठमाडौँलाई केन्द्र बनाई बिक्री वितरण गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।