सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अवकाशमा
काठमाडौँ । राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गरी मंगलबार रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुवाडीको अवकाश स्वीकृत गर्दै हालसम्म पुर्याएको योगदानका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले यस्तो जानकारी दिएका हुन् ।
दुवाडी अवकाशमा गएपछि एउटा सचिव पद रिक्त भएको छ । रिक्त सचिव पदमा सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव पदमा कार्यरत सहसचिव बैकुष्ठ अर्याललाई बढुवा गर्ने तयारी छ ।
अर्याललाई गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रमुख सचिव बनाएर सुदूरपश्चिम प्रदेशमा पठाइएको थियो । गोरखाका अर्याल वरिष्ठ सहसचिव हुन् । कामु दिएपछि सचिवमा बढुवा गर्ने यसअघिको परम्परा रहँदै आएको छ ।
दुवाडीसँगै मुख्यसचिव एकनारायण अर्याल पनि आज रातिदेखि नै ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
अर्याल अवकाशमा गएसँगै रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।