काठमाडौंमा चिनियाँ समूहले नेपाली युवतीलाई प्रलोभनमा पारेर चीन पठाउने प्रयास, चार पक्राउ
काठमाडौं, ७ मंसिर – काठमाडौंमा चिनियाँ नागरिकको एक समूहले भिसा विपरीत कार्य गर्दै नेपाली युवतीलाई चीन लगाउने प्रयास गरेको आरोपमा चार जनालाई अध्यागमन विभागले पक्राउ गरेको छ।
अध्यागमन विभागले प्राप्त सूचनाको आधारमा सो समूहलाई सोह्रखुट्टे नजिकै म्हैपीस्थित एक घरमा लोकेट गरेको थियो। २८ असोजमा अध्यागमनको टोली र प्रहरीसहित सो घरमा छापा मार्दा चार चिनियाँ नागरिक र चार नेपाली युवती फेला परे।
अध्यागमन विभागका निर्देशक रामचन्द तिवारीका अनुसार, पक्राउ परेका चिनियाँ नागरिक बिजनेश भिसामा नेपाल आएका थिए। तर उनीहरूले यहाँ कुनै व्यवसाय सञ्चालन गरेको देखिएको छैन। विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार, “बिजनेश भिसामा आएका तर कुनै व्यवसाय देखिँदैन, यस विषयमा उनीहरू स्पष्ट जवाफ दिन सकेका छैनन्।”
अनुसन्धान अनुसार, चिनियाँ समूहले सामाजिक सञ्जाल र भिडियोमार्फत नेपाली युवतीसँग सम्पर्क गरी प्रलोभन देखाउँथ्यो र चीनमा रहेका चिनियाँ युवकसँग विवाह गराएर उनीहरूलाई चीन पठाउने योजना बनाएको पाइयो। विभागले अहिलेसम्म एक सयभन्दा बढी युवती यसरी चीन पुर्याइएको सूचना पाएको छ।
अध्यागमन विभागले पक्राउ परेकाहरूको बयान लिइरहेको छ र कारबाहीको प्रक्रिया अघि बढाइएको छ। अनुसन्धान अधिकृतका अनुसार, चिनियाँमाथि अध्यागमन कानून अनुसार डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइएको छ।