नोबेल मेडिकलमा शल्यक्रियापछि ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो
विराटनगर, ७ मंसिर – विराटनगरको नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रियापछि ७ वर्षीय बालकको आँखाको ज्योति गुम्दा अस्पताल प्रशासन र चिकित्सकमाथि गम्भीर सवाल उठेका छन्।
इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय जेनिश पाठकको दाहिने आँखा नाक भित्र पलाएको मासु निकाल्ने शल्यक्रियापछि क्षति पुगेको हो। बालक ४ मंसिरमा अस्पताल भर्ना भएका थिए र ५ मंसिरमा शल्यक्रिया गरिएको थियो।
जेनिशका मामा श्रीकान्त प्रसाईंले बालकको आँखाको ज्योति गुमेपछि अस्पतालले हतारहतार डिस्चार्ज गरेको बताए। डिस्चार्ज भएपछि बालकलाई विराटनगर आँखा अस्पतालमा भर्ना गरिएको थियो, जहाँ चिकित्सकले ड्यामेजको कारण ज्योति फिर्ता नहुने जानकारी दिएका छन्। चिकित्सकका अनुसार बालकको आँखाको भित्री हड्डी पनि निकालिएको कारण गम्भीर चोट पुगेको छ।
श्रीकान्तले भने, “७ वर्षको उमेरमा बालकको आँखाको ज्योति नै गुम्यो। हामीलाई डिपार्टमेन्ट हेडले अनुभवी चिकित्सकले अप्रेसन गर्ने भनेका थिए, तर सिकारु डाक्टर खटाइएको रहेछ।”
बालकको उपचारमा संलग्न डा. प्रज्वल श्रेष्ठले नाकको शल्यक्रियापछि आँखामा समस्या आएको स्वीकार गर्दै, “नाकको साइटमा रोग भएकाले मासु निकाल्दा आँखाको हड्डी पनि हटाउनुपर्यो। यसले चोट पुर्यायो। यस्तो कम्लिकेसन दुर्लभ भए पनि सम्भव छ,” बताए।
घटना प्रकाशमा आएपछि बालकका मामा जिल्ला प्रशासन कार्यालय मोरङमा अस्पताल र सम्बन्धित चिकित्सकविरुद्ध उजुरी दिएका छन्। प्रमुख जिल्ला अधिकारी युवराज कटेलले उजुरीलाई गम्भीरतापूर्वक लिएर छानबिनको लागि प्रहरीमा पठाइएको र रिपोर्टपछि मेडिकल काउन्सिलसँग समन्वय गरेर कारबाही अघि बढाइने बताए।
विशेषज्ञ चिकित्सकहरूले भने, “शल्यक्रियामा पूर्वतयारी आवश्यक थियो। आँखासम्म समस्या पुगेको हुँदा अधिक सतर्कता अपनाउनुपर्ने थियो।”
यो घटना बालबालिकाको स्वास्थ्य सुरक्षामा लापरबाही र चिकित्सकीय जिम्मेवारीबारे नयाँ बहसलाई जन्म दिएको छ।