मध्यबानेश्वरमा घर फोरी चोरी गर्ने युवक पक्राउ
काठमाडौंको मध्यबानेश्वर क्षेत्रमा घर फोरेर सुन–चाँदीका गरगहना चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–३१ बानेश्वरस्थित एक घरको कोठाको ताला फोडी चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कोठा फोर्न प्रयोग हुने विभिन्न औजारसहित चोरीका सामग्री बरामद गरिएको छ। पक्राउ परेका विश्वकर्मासँग एक थान खुकुरी, सुनको औँठी, बाला, झुम्का, पाउजु, मोतीको माला तथा चाँदीको सिक्का बरामद गरिएको छ। साथै विदेशी मुद्रा २२ थान, फलामका रेन्ची दुई थान, सोनी कम्पनीका क्यामेरा दुई थान, क्यामेरा चार्जर दुई थान, भिडियो प्लेयर एक थान, मेमोरी कार्ड एक थान र सुन–चाँदीका बिल २७ थान समेत फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको परिसरले जनाएको छ।