काठमाडौं गोर्खाजको विजयी सुरुआत
काठमाडौँ — एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएका १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो। काठमाडौंका बेन चार्ल्सवर्थ ४६, आकाश त्रिपाठी ३९, मिलिन्द कुमार १९ र जोन सिम्पसन १३ रन बनाउँदै जितमा योगदान दिए।
जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी, निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट लिए।
पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटमा १३० रन बनाएको थियो। टोलीका लागि आसिफ शेख ५४, मयन यादव ३४ र लाहिरु समारकून २२ रन बनाए।
काठमाडौँका बलर मिलिन्द कुमारले ३ विकेट, जबकि सन्तोष यादव, साहबल आलम र करणा केसीले एक–एक विकेट लिए।
एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल आयोजना गरिएको हो। आगामी खेलहरू पनि दिन तथा रात दुबै समय हुनेछन्।