हेमकुमार महाजु हुण्डी कारोबार आरोपमा पक्राउ
काठमाडौँ – प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई हुण्डीमार्फत अवैध रकम कारोबार गरेको आरोपमा ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिएको छ।
एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महाजुमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान चलिरहेको छ। अनुसन्धानका क्रममा प्रभु म्यानेजमेन्टको नाममा रहेको सिटिजन्स बैंक खातामा विभिन्न व्यक्तिका नामबाट पटक–पटक ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म शंकास्पद रकम जम्मा गरिएको पाइएको थियो।
सिआइबीले जनाएको छ कि रेमिट कारोबारको आवरणमा रकम अवैध रूपमा हुण्डीमार्फत ल्याई मिलान गरिएको प्रारम्भिक प्रमाण भेटिएको छ। महाजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ।