रसुवागढी सुख्खाबन्दरगाहमा बाढीले थुपारेको फोहोर हटाउन सफाइ सुरु
रसुवागढी भन्सार कार्यालयसँगै रहेको सुख्खाबन्दरगाहमा असार २४ गते ल्हेन्देखोलाको बाढीले थुपारेका ढुङ्गा, बालुवा, रड, काठपातलगायतका सामग्री हटाउने काम औपचारिक रूपमा सुरु भएको छ। चीन–नेपाल जोड्ने मितेरी पुल बगाएपछि निर्माणाधीन बेलिब्रिज अन्तिम चरणमा पुगेसँगै बन्दरगाह सफाइ कार्य गतिशील बनाइएको हो।
सफाइको जिम्मा पाएको ‘नेपाल इन्टरमोडल ट्रान्सपोर्ट’का प्रबन्ध निर्देशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ मालवाहक कन्टेनर पार्किङका लागि क्षेत्र सफा भइरहेको छ भने दोस्रो चरणमा थप ७५ कन्टेनरका लागि स्थान बनाउन प्रक्रिया अघि बढिसकेको छ। यसरी कुल १५० कन्टेनर व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
बाढीले सुख्खाबन्दरगाहको करिब ६० प्रतिशत क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको प्रबन्ध निर्देशक गजुरेलले बताए। उनले यो हिउँदमै सम्पूर्ण सफाइ पूरा गर्ने तयारी रहेको पनि जानकारी दिए।
रसुवागढीका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार बन्दरगाहसहित क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मतसम्भारका लागि सडक सुधार आयोजनालाई अनुरोध भइसकेको छ।
ढुवानी व्यवसायी र स्थानीयले ठाडोखोलाले घट्टेखोला पुलको जग कमजोर बनाएकाले कन्टेनर सञ्चालन जोखिमपूर्ण रहेको बताउँदै छिटो मर्मत गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।