एनपीएल सट्टेबाजीमा संलग्न ८ भारतीय पक्राउ
७ मंसिर, काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई अनलाइन बेटिङ साइटमार्फत खेलको परिणाम प्रभावित पार्नेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न भएको पुष्टि गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।
उनीहरूको साथबाट १५ वटा मोबाइल बरामद गरिएको छ, जसबाट प्रविधियुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।