काठमाडौँ–बनेपा रुटमा सक्रिय लुटपाट गिरोह पक्राउ
काठमाडौँ — काठमाडौँबाट काभ्रेको बनेपातर्फ जाने सार्वजनिक बसमा पाकेटमार र सिक्री लुट्ने कार्यमा सक्रिय एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर क्षेत्रमा लगातार लुटपाट मच्चाइरहेको समूहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कात्तिक २६ गते समातिएको जनाएको छ।
पक्राउ पर्नेहरूमध्ये ४२ वर्षीय कृष्णबहादुर खड्का मुख्य योजनाकार रहेको खुलेको छ। मोरङ शनिश्चरे नगरपालिका–९ घर भई भक्तपुरको सिपाडोल बस्ने खड्का यसअघि मात्रै ३८ पटक पक्राउ परिसकेका थिए भने अहिले ३९औँ पटक प्रहरी हिरासतमा पुगेका छन्। उनले बा४च ३९१६ नम्बरको कार चढेर युवामार्फत लुटपाट गराउने गरेको प्रहरीको अनुसन्धानमा थाहा भएको छ।
एसपी काजीकुमार आचार्यका अनुसार खड्कासहित आठ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये अनु गजमेर (२३), राजीव भण्डारी (१८), सुदीप भण्डारी (२६), सुजन भण्डारी (३४), साधुराम भुजेल (२६), सुरज तामाङ (२७) र विशाल तामाङ (२२) छन्।
खड्का र उनकी टोली कार तथा मोटरसाइकलमार्फत सुनका गहना लगाएकाहरू र पैसा बोकेकाहरूको रेकी गर्थे र पछ्याएर लुटपाट गर्थे। प्रतिकार भए आक्रमणसमेत गर्ने गरेको अनुसन्धान टोलीले जनाएको छ।
करिब १५ दिनअघि समूहका सदस्यहरू बनेपातर्फ जाँदै गरेका बसमा चढेर भातेढिकुरमा ओर्लिए र महिलाहरूको समूहसँगै काठमाडौँ फर्कने बस चढे। बसमै धकेलाधकेल सिर्जना गरी एक महिलाको सिक्री लुटेर फरार भएको घटना पनि उजागर भएको छ।
गिरोहले राधेराधेमा पनि एक महिलाको सिक्री लुटेको खुलेको छ। प्रहरीले दुई तोला र एक तोलाका सिक्री बरामद गरेको छ।
१२ दिनको अनुसन्धानपछि डीएसपी कृष्ण खड्का र इन्स्पेक्टर हेम थपलियाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि चोरी तथा लुटपाटसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।