मदन भण्डारी राजमार्ग गुल्मी खण्डमा झाडी र फोहोरले दुर्घटना जोखिम बढ्यो
७ मंसिर, गुल्मी – मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डको सडक किनारमा झाडी, घाँस र फोहोर जम्दा दुर्घटनाको जोखिम बढेको छ। जिल्ला सदरमुकाम तम्घासदेखि सिमटारीसम्मको उक्त २८ किलोमिटर सडकमा घाँस, स–साना रुख, बिरुवा र पातपतिङ्ग जम्दा सडक साँघुरिँदै गएको स्थानीयहरूले बताएका छन्।
वर्षायाममा आएको पहिरो र बाढीले बगाएको फोहर नहटाउँदा सडकमा खाल्डा परेका छन्। स्थानीय इस्मा गाउँपालिका–६ का सुजन विष्टका अनुसार सडकको सौन्दर्य पनि घट्दै गएको छ। सो सडक छ वर्षअघिदेखि स्तरोन्नति गरिएको थियो र कुल रु ८७ करोड ९१ लाखमा निर्माण गरिएको हो।
सडकको स्वामित्व पाएको मदन भण्डारी राजमार्ग, गुल्मीले दुई जना कामदार खटाएर सफाइ गरिरहेको भए पनि कामदारको संख्या पर्याप्त नभएकाले सम्पूर्ण क्षेत्रमा सफाइ हुन नसकेको जनाइएको छ। कार्यालय प्रमुख रमेश चौधरीका अनुसार ठेक्कामार्फत निश्चित खण्डमा काम भइरहेको छ।