यूएईले नेपाली भिसा रोकेको समाचार, दुबई जाने तयारी अलमलमा
काठमाडौं: यूएईले जेनजी आन्दोलनपछि नेपाली श्रमिकको भिसा रोक्यो, दुबई जाने तयारीमा रहेका नेपाली अलमलमा
काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपाली श्रमिकका लागि श्रम र भिजिट भिसामा रोक लगाएको छ। नेपाल सरकारका प्रयासको बाबजुद यूएईले भिसा खोल्न अनुमति दिएको छैन।
भदौ २४ को प्रदर्शनका क्रममा जेलमा रहेका कैदी केही भागेका थिए, तर तिनीमध्ये धेरै कारागार फर्किएका छैनन्। जेलबाट भागेका कैदीहरूको अवस्थाबारे विश्वस्त नभएसम्म यूएईले भिसा नदिने तयारी गरेको जानकारहरूले बताएका छन्।
यस कारण दुबई जान तयारी गरिरहेका सयौं नेपाली अलमलमा छन्। यूएईको मानव संशाधन तथा इमिराती मन्त्रालयले कलिङ भिसा प्राप्त नेपाली श्रमिकलाई पनि अनुमति दिएको छैन। कतिपयको सबै प्रक्रिया पूरा भइसके पनि उनीहरू दुबई उड्न पाएका छैनन्।
नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवन सिंह गुरुङले कलिङ भिसा प्राप्त ४९५ जना नेपालीको नाम परराष्ट्र मन्त्रालयमार्फत यूएई सरकारलाई जानकारी गराएको भए पनि अनुमति नदिएको बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले भने, “यूएई सरकारले भिसा रोकिएको विषयमा नेपाल सरकारलाई कुनै आधिकारिक जानकारी दिएको छैन। तर सञ्चारमाध्यम तथा संघ संस्थाबाट प्राप्त जानकारीको आधारमा हामी पहल सुरु गरेका छौं।”
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पनि यूएई दूतावाससँग कुराकानी भइरहेको र निकास चाँडै निस्कनेमा विश्वस्त रहेको बताए।
यूएईका सात इमिरेट्समध्ये दुबईमा सबैभन्दा बढी नेपाली श्रमिक र भ्रमणका लागि जाने गरेका छन्। शारजाहले आवश्यक कागजातसहित करिब ४० हजार रुपैयाँ धितो राखेपछि मात्र भिसा दिने व्यवस्था गरेको छ। तर भिजिट भिसाबाट कामदार भिसामा परिवर्तन गर्न मिल्दैन।
नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष गुरुङले जेलबाट भागेका कैदीको विवरण उपलब्ध गराएपछि मात्र यूएई विश्वस्त हुने बताए। उनले भागेका कैदीको पासपोर्ट र नाम इन्टरपोलमा पठाउनुपर्ने र आधिकारिक सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए।
यूएई जाने नेपाली श्रमिक संख्या १५१ गन्तव्य देशमध्ये सबैभन्दा बढी रहेको छ, र भिसा रोकिएकाले ठूलो असर परेको छ।