धनुषामा कारको ठक्करले महिलाको मृत्यु, श्रीमान घाइते
७ मंसिर, धनुषा – धनुषाको मिथिला नगरपालिका वडा नं. २ हजराचौक, जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार, बा प्र ०१–०३१ च २०३६ नम्बरको कारले मिथिला नगरपालिका–१, लक्ष्मी निवासकी करिब ४६ वर्षीया सुमिन्त्रा देवी महतोलाई ठक्कर दिएको थियो। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए।
दुर्घटनामा महतोका ५० वर्षे श्रीमान् राजकुमार घाइते भएका छन्। ठक्कर दिने गाडी र चालक, सर्लाही लालबन्दी–६ का १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिएर ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।