चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना घाइते
चितवन — माडी नगरपालिका–१ गर्दीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदल हिँडिरहेका माडी–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित बन्दै खेतमा खसेको थियो। दुर्घटनामा बसमा सवार दुई जना घाइते भएका छन्। उनीहरूलाई बघौडा अस्पतालमा उपचार भइरहेको छ भने दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीको भनाइ छ।