जुम्लामा दुई नयाँ मतदान केन्द्र सिफारिस, एउटा स्थानान्तरण प्रस्ताव
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्ला जिल्ला निर्वाचन कार्यालयले दुई मतदान केन्द्र थप गर्न र एउटा स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ।
निमित्त कार्यालय प्रमुख नारायणी आचार्यका अनुसार हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक नयाँ मतदान केन्द्रको प्रस्ताव गरिएको छ। त्यस्तै तिला गाउँपालिका–९ मा रहेको एक मतदान केन्द्र स्थानान्तरण गर्न सिफारिस गरिएको छ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि मंसिर ५ गतेसम्म समय दिएको छ। अनलाइन दर्ता प्रणालीका कारण जिल्लामा हालसम्म ८४९ नयाँ मतदाता थपिएका छन्, जसमा ३७३ महिला र ४७६ पुरुष छन्। बाहिरी जिल्लाबाट ९७ जनाले जुम्लामा नाम दर्ता गराएका छन्। नयाँ नामावली समावेश हुनु अघि जिल्लामा कूल ६७ हजार ७३६ मतदाता थिए।
जिल्ला निर्वाचन कार्यालयले गत असोजदेखि मतदाता नामावली संकलन गर्दै आएको छ। कात्तिक मसान्तसम्म तोकिएको म्याद सहभागिता उत्साहजनक भएको कारण आयोगले मंसिर ५ गतेसम्म लम्ब्याएको हो।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा अहिले ७९ मतदानस्थल र १०२ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ। यसैबीच, सर्वपक्षीय बैठकमार्फत मतदान केन्द्रको अवस्था, मतदाता नामावली संकलन र समग्र निर्वाचन तयारीबारे छलफल जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।